Logo
Logo

देउवा-गगन छलफल निष्कर्षविहीन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन सकिएको छ ।

‘चुनावअघि गठबन्धन गर्न नहुने’ महामन्त्री थापाको प्रस्तावमा सभापति देउवा सहमत नभएपछि दुई नेता सोमबार बिहानैदेखि बुढानीलकण्डमा छलफलमा बसेका थिए । तर, छलफल निष्कर्षविहीन बनेपछि महासमिति बैठकउद्घाटन सत्रपछि फेरि छलफलमा बस्ने भएका छन् ।

महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा देउवाको असहमति छ । कांग्रेससहितको गठबन्धनको सरकार चलिरहेको अहिलेको अवस्थामा यस्ता अडान राखिरहेका महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग भएपछि छलफल निष्कर्षविहीन बनेको एक नेताले बताए ।

अर्का, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन् । महामन्त्रीद्वयका प्रस्तावका कतिपय कुरामा आपत्ति जनाएका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको प्रस्तावबारे भने केही भनेका छैनन् ।

सभापति देउवाले आफूलाई अहसज लागेका कुरा प्रतिवेदनबाट हटाउन अडान लिएका छन् भने महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना भएकोले महासमितिमा छलफल हुनुपर्ने बताएका छन् ।

कांग्रेसको महासमिति बैठक अहिले दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ । सभापति देउवाले बैठक उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्