Logo
Logo

जिबी राईको सहकारी ठगीबारे बुझ्न सिआइबी टोली पोखरा


315
Shares


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ ।

सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दिएको छ । माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको थियो ।

छापा मारेर प्रहरीले उनको घरबाट चारवटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमा भएका सूचना/विवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको स्रोत बताउँछ । सिआइबीको टोलीले यसमाथि काम गरिरहेको छ । प्रहरीले छापा मारेको जोशीको घरमा कुनै समय सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय थियो ।

सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूमाथि बयान लिएर प्रहरी त्यस घरमा पुगेको हो । त्यहाँबाट महत्त्वपूर्ण दस्तावेजहरूको विद्युतीय अभिलेख फेला पारेको प्रहरीले जनाएको छ । पूर्वडिआइजी जोशी ग्यालेक्सी टेलिभिजन चलाउने गोरखा मिडिया नेटवर्कका संस्थापक थिए । त्यसमा जिबी राईको ५० प्रतिशत र पूर्वडिआइजी जोशीको नाममा ३५ प्रतिशत शेयर थियो ।

गोर्खा मिडियाको नाममा सूर्यदर्शन सहकारीबाट धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण दिएको फेला परेको थियो । सहकारीबाटै नेचर हर्ब्स, नेचर नेक्स्ट लगायतलाई पनि करोडौं रूपैयाँ ऋण दिएको छानबिन प्रतिवेदनबाट खुलेको थियो ।

यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । यस्तै जिबीविरूद्ध प्रहरीले रेड नोटिस जारी गर्ने तयारी गरेको छ । त्यसमा कास्की प्रहरीले कागजात मिलाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्