Logo
Logo

गगनको प्रस्तावले कांग्रेसमा बबन्डर, देउवा र गगनको आ-आफ्नै अडान


3.5k
Shares

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयले तरङ्ग ल्याएको छ । 

अब हुने निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्न पार्टी महामन्त्री गगन थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदन बदल्न कांग्रेसको संस्थापन पक्ष सक्रिय छ । 

महासमितिबाट सो प्रस्ताव पारित भए अहिलेको गठबन्धनमा सत्ता हस्तान्तरण प्रक्रिया प्रभावित हुने भयले संस्थापन पक्ष महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने या नगर्नेबारे छलफल गर्न तयार देखिएको छैन ।

माओवादी केन्द्रसहितको वर्तमान गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीको दुई वर्षको अवधि सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सत्ताको नेतृत्व सुम्पनुपर्नेछ ।

माधव नेपालले सरकारको एक वर्ष नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री हुनेछन् । पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनमा कोशीको परिणामलाई लिएर कांग्रेससँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने बहस सुरु भइरहेको छ ।

गठबन्धन नगर्ने प्रतिवेदन पारित भएमा प्रचण्डले एमालेसँग मिलेर गठबन्धन गर्न सक्ने भयले संस्थापन पक्ष सकेसम्म त्यसबारे बैठकमा छलफलै नगराउने पक्षमा देखिएको छ ।

त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएर पार्टी महामन्त्री गगन थापासँग सोमबार छलफल गरे । तर, संस्थापन इतर समूह कुनै हालतमा महासमिति बैठकमा गठबन्धनबारे छलफल गराउने र निर्णय गराउने पक्षमा देखिएको छ । त्यसैले देउवा र थापाबीचको वार्ता सहमतिमा पुग्न सकेन । 

चुनावी गठबन्धन नगर्ने प्रस्तावमा चिढिएका सभापति शेरबहादुर देउवा धर्मनिरपेक्षतामा भने मौन रहेका छन् । धर्मनिरपेक्षतालाई प्रमुख उपलब्धि मान्ने माओवादी केन्द्र देउवाको धर्म राजनीतिप्रतिको मोह सतहमा आउँदा पनि के अब कांग्रेससँगको गठबन्धनमा रहिरहन सक्ला ?

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा थन्किएको छ । देउवाले गगनको चुनावी गठबन्धन नगर्ने विषय र विश्वप्रकाशको कोशी प्रकरण होल्ड गर्न खोज्दा प्रतिवेदन थन्किएको हो । देउवालाई यी दुई विषयले गठबन्धन टुट्ने डर छ । 

कांग्रेसमा चुनावी गठबन्धन नगर्ने विषय जोडतोडले उठेको छ । जुन कुरा माओवादी केन्द्रलाई अहिले नै सचेत गराउने विषय बनेको छ । यस्तो जोखिम विषयमा कांग्रेस प्रवेश गरेपछि प्रचण्डले अब राजनीतिक जोडघटाउको हिसाब मिलान गर्न पनि गठबन्धन तोड्ने प्रयासलाई थप तीव्रता दिने देखिन्छ । अन्य थुप्रै राजनीतिक विषयका कारण माओवादी केन्द्र पनि गठबन्धनप्रति अरुचीकर बन्ने संकेत फेला परेका छन् ।

के हुन् त गठबन्धन भत्किन सक्ने मुख्य कारण ?

१. कांग्रेसद्वारा कोशीमा शृङ्खलाबद्ध धोका

२. कांग्रेसले दिने धोकाबारे माओवादीका हरेक बैठकमा आवाज उठ्नु र माओवादीलाई असर परिरहेको विषय उठिरहनु

३. कांग्रेससँगको गठबन्धनबाट लाभ प्राप्त गर्न नसकेको प्रचण्डको निष्कर्ष

४. विचार नमिल्नेसँग गठबन्धन नगर्ने र शत्रु नै किटान गर्ने विषय माओवादी बैठकमा प्रवेश

५. कांग्रेस विधान महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदनको तरङ्ग

६. धर्मनिरपेक्षतामा देउवाको लचकता र कांग्रेसभित्र मौलाएको धर्म पक्षधर जनमत

७. गठबन्धनको रक्षा भन्दा पनि सत्ता र शक्ति हत्याउने प्रपञ्चको शुरुवात

प्रतिक्रिया दिनुहोस्