Logo
Logo

कपिलवस्तुमा एक पुरषको हत्या



कपिलवस्तु । कपिलवस्तुमा एक जना पुरूषको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । आइतबार साँझ ६ बजेतिर कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फ खेतको कुलोमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

शव देखेपछि स्थानीयले वडाध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेका थिए । वडाध्यक्ष तिवारीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई जानकारी गराएपछि सोमबार बिहान प्रहरीले शव निकालेको हो ।

घुँडाको भागमात्र देखिएको शवलाई खाडलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए । शवको टाउको फेला नपरेको पनि एसपी पौडेलले बताए । त्यस्तै यौनांग र शरीरका अन्य अंग पनि जलाइएको अवस्थामा फेला परेको हो ।

घटनास्थल कोदाहवा चोकदेखि ५ सय मिटर दक्षिण तर्फ छ । ती पुरूषको अन्तै हत्या गरी शरीरमात्रै त्यहाँ गाड्न ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । टाउकोको अन्तै व्यवस्थापन गरेको प्रहरीको आशंका छ ।

ती पुरूषले शरीरमा जिन्सको सर्ट लगाएको र नाडीमा धागो बाँधिएको अवस्थामा शव फेला परेको डिएसपी हरिबहादुर वलीले जानकारी दिए । शवलाई खाडलबाट निकालेर पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । घटनाको थप अनुसन्धान अगाडि बढाएको वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्