Logo
Logo

गृहसचिवमा तीन सचिवको दौडधुप


962
Shares

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिवमा ल्याएका दिनेश भट्टराईलाई सरुवाको तयारी थालेको छ । खासगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारी सरुवामा मनपरी हेरफेर गर्ने र एकले अर्कालाई च्याप्न थालेपछि गृहसचिव भट्टराईले रोकेका कारण उनलाई सरुवा गर्न लागिएको हो ।

अवकाश हुन एक वर्ष बाँकी रहेका बेला उनलाई हटाएर अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्कर, प्रधानमन्त्री कार्यालयका एकनारायण अर्याल र अर्का घनश्याम उपाध्याय मध्ये एक जनालाई ल्याउने तयारी गरेका छन् । आफूलाई एमाले निकट ठान्ने अर्यालको बढी जोड रहेको छ भने आरजु देउवाको फेरो समातेर शक्तिशाली मन्त्रालयमा हालीमुहाली गर्ने पुस्करले पनि गृह ताकेका छन् ।

गृहसचिव बन्न धेरै सचिवहरूको महत्वाकांक्षा हुने भएकाले शक्ति केन्द्रको नजिक हुने सचिवले मात्रै त्यसको अवसर पाउने गरेका छन् । ७७ वटा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरीका कार्यालय, सिंगो प्रहरी संगठन, सशस्त्र प्रहरी तथा अन्तर मन्त्रालयको समेत समन्वय गर्ने प्रमुख जिम्मेवारी गृहसचिवलाई हुन्छ । त्यसकारण शक्तिको अधिकतम प्रयोग गर्ने थलो भएकाले उनीहरूले गृहमा आउन जोडबल गरिरहेको स्रोतको दाबी छ ।

एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएका थिए । सरकारले विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर भट्टराईलाई त्यहाँ पठाएको थियो । तर, अहिले मन्त्री श्रेष्ठ नै उनलाई हटाएर अर्को सचिव ल्याउन लागिपरेका छन् ।

सचिव भट्टराईले सशस्त्र प्रहरीका डिआइजी किशोर श्रेष्ठको बढुवामा पनि रोकिदिएपछि मन्त्री श्रेष्ठ रिसाएका थिए । गोरखा घर भएका डिआइजी श्रेष्ठले आफू एआइजीमा बढुवा हुनका लागि मन्त्रीको फेर समात्दै आएका थिए । कोषराज वन्तका मुख्य सहयोगी रहेका श्रेष्ठलाई मन्त्रीले च्यापेका छन् । सशस्त्र प्रहरीका डिआइजी श्रेष्ठलाई आन्तरिक सूचना चुहवाट गर्ने व्यक्तिको रुपमा पनि विभागभित्र चिनिने भएकाले संगठनका तर्फबाट उनलाई बढुवा गर्न आनाकानी भैरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्