काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित थापाले सांगठनिक प्रस्ताव पेश गरेका हुन् । गगनले आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित प्रतिवेदन पेश गरेका छन् ।

कुनै पनि कांग्रेसी कार्यकर्तालाई नेतृत्वले रुख चिन्हबाहेक अन्यमा भोट हाल्न दबाब दिन नपाइने अडानमा रहेका गगनले त्यही अनुसार प्रतिवेदन पनि महासमितिमा लगेका छन् ।
थापाले आफ्नो अडान नछाडेपछि सभापति देउवा पछि हटेका थिए । थापाले महासमितिमा पनि आफ्नो उक्त अडानलाई कायमै राख्दै प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदन पेश गर्ने क्रममा थापाले कांग्रेसका कुनै पनि कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् ।
उनको प्रस्तावमा भनिएको छ– ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ, हाम्रा मतदाता र कार्यकर्ताहरूलाई कांग्रेसको चुनाव चिह्न रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’
थापाले विगतमा नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग भएको गठबन्धनलाई संविधान रक्षाका लागि भन्दै अब त्यसको जरुरी नहुने निष्कर्ष निकालेका छन् ।
उनले भनेका छन्– ‘एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचनअगाडि गठबन्धनको नेतृत्व गर्नुप¥यो । गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ, कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ ।’
तर, थापाले निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज भएको भनेका छन् । उनले भनेका छन्– ‘त्यही कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आंवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ । हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’
उनले अब कांग्रर्सको आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै जानु आवश्यक रहेको बताएका छन् ।














