
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झा माथी कालोमोसो दल्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाहीलाई पक्राउ गरेको हो ।
संगठनका कास्की जिल्ला संयोजकसमेत रहेका शुकबहादुरलाई दुई दिन अगाडी पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापाले जानकारी दिए ।
उनका अनुसार शुकबहादुर माघ २९ गते यातायात विभागका महानिर्देशक रिजाल र फागुन चार गते डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न रहेका र शाही भने डीडीसीको घटनामा संलग्न रहेका थिए । शाही भने सोमबार काठमाडौंबाटै पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














