Logo
Logo

सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?


20.7k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानको दोस्रोपटक शल्यक्रिया गरिएको छ । गत बैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गरेका उनको सोमबार साँझ दोस्रो पटक गरिएको हो ।

काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको बताइएको छ । शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ ।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।

के हो लाइपोमा ?
लाइपोमा गोलाकार वा अण्डाकार आकारको तन्तु हो, जुन छाला र मासुको बीचमा जमेर बसेको हुन्छ । बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउन सक्छ ।

जुनसुकै भागमा देखिने लाइपोमा खासगरी निधार घाँटी, ढाड, हात, पेटमा धेरै देखिन्छ । प्रत्येक हजार जनामध्ये एक जनामा कुनै न कुनै समयमा लाइपोमा देखिन सक्छ । यद्यपि यो समस्या त्यति खतरनाक नभएकाले आत्तिहाल्नु नपर्ने चिकित्सकहरु बताउँछन् ।

लाइपोमा के कारणले आउँछ भन्ने ठोस प्रमाण हालसम्म भेटिएको छैन । सामान्यतयाः मध्यम उमेरका पुरुष र महिलामा यो बढी देखिने गरेको छ । तर आजभोलि उक्त उमेर समूहभन्दा अरुमा पनि यो समस्या देखिएको छ । परिवारमा पहिले कसैलाई लाइपोमा आएको छ भने अरुलाई पनि देखिन सक्छ ।

लक्षण
लाइपोमा सामान्यतया सानो गाँठोको रूपमा देखा पर्छ । यो एकबाट अर्को तन्तुमा नफैलिने भएकाले आत्तिनु पर्दैन । यसको गाँठो प्रायः दुई इन्चभन्दा कम चौडाइका हुन्छन् । सो गाँठोलाई थिच्दा बाक्लो खालको गिर्खा जस्तो हुन्छ, जुन सजिलै औंलाको दबाबले चलाउन सकिन्छ । त्यस्तो गाँठो खासै दुख्दैन तर पाँच सेन्टिमिटरभन्दा ठूलो आकारमा भएमा नसामा दबाब पर्न गएर खुम्चिन सक्छ । जसकारण झमझमाउन वा दुख्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्