काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज (बुधबार) विभिन्न आन्दोलन भएका छन् । काठमाडौंमा राजनीतिक दलदेखि विभिन्न पीडितहरूले प्रदर्शन गरेका हुन् ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए ।
राप्रपाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाएको छ ।
लघुवित्त पीडितको प्रदर्शन
आज लघुवित्त पीडितहरूले पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरूले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरू मुग्लिनमा जम्मा भएर पैदल यात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरू त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए । करिब ३ हजारको संख्यामा रहेका उनीहरूमा अधिकांश महिला छन् ।
मिटरब्याजी पीडित पनि काठमाडौंमा
सरकारसँग न्यायको माग गर्दै विभिन्न जिल्लाका केही मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् भने केही भोलि ९बिहीबार० आइपुग्दैछन् । मिटरब्याजी पीडित निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आएका हुन् ।
उनीहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदल यात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाडौं लागेका हुन् । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।
फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।
पीडितहरूको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
झन्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरूका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाडौंसम्मको यात्रा गर्नुपरेको मिटरब्याजी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले जनाएका छन् ।
ट्याक्सी व्यवसायी आन्दोलित
ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । ‘सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त सङ्घर्ष समिति’ को नाममा आन्दोलन सुरु भएको हो ।
उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गरिनुपर्ने, ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार तोकिनुपर्ने, निजी दुई तथा चार पाङ्गे् सवारी साधनहरूले भाडामा मान्छे ओसार्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।
सङ्घर्ष समितिका संयोजक पपिन्द्र बाराकोटी मगरले अस्थायी बाटो इजाजत अनलाइन वा २४ सैं घण्टा खुल्नेगरि उपत्यकाको सबै नाकाबाट दिईनुपर्नेलगायतको माग पनि आफूहरूको रहेको बताए । ट्याक्सीसहित सडकमा आएका उनीहरूले राजधानीमा आफ्नो मागपत्र समेटिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
महानगर पीडित आन्दोलनमै
सडक व्यापारी र अनौपचारिक क्षेत्रका व्यवसायी पनि आन्दोलन गर्दै आएका छन् । व्यवस्थापनका नाममा गरिबलाई बिना विकल्प विस्थापन गरेको भन्दै उनी विरोधमा उत्रिएका हुन् ।
सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदल यात्रा गरेका सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका पनि थिए ।
प्रधानमन्त्रीलाई बुझााएको ज्ञापनपत्रमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरूको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको छ ।
‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी (ईः) ले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । अभियन्ता ईः ले माघ २८मा लुम्बिनीबाट पैदल यात्रा थालेका थिए ।
सडक व्यापारी र सहरी गरिबीको लोकरिझ्याइँबाट निर्देशित भएर स्थानीय पालिकाले लिएको नितिको विरोधमा ईःले बुद्धजन्मस्थल लुम्बिनीबाट सुरु गरेको दबाबमूलक यात्रा सिंहदरबार ल्याएर टुंग्याएका थिए ।
देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरिबलाई बिना अध्ययन र विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म बस्न निर्देशन दिनुपर्ने माग पनि ईःको छ ।
अभियन्ता ईःले काठमाडौँ महानगरपालिकाले फुटपाथमा पसल राख्न नदिएको भन्दै १९९ घण्टा राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।














