
भरतपुर । बुद्ध धर्म संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्यसहित चितवनको भरतपुर–९, शरदपुरमा एक हप्ता लामो कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा धर्म प्रवचन कार्यक्रम सुरु गरिएको छ ।
शरदपुरस्थित पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले फागुन ५ गतेदेखि सुरु भएको कङ्ग्युर पाठ फागुन १२ गते शनिबारसम्म जारी रहनेछ । कार्यक्रममा विभिन्न धर्मगुरूहरूद्वारा नियमित पाठ वाचन हुँदै आएको छ ।
यही क्रममा अवतारी लामा टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरुङमार्फत वाङ (अभिषेक) ग्रहणसमेत गरिएको छ । कङ्ग्युर पाठ वाचन मूल समारोह समितिका संयोजक एवम् गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल गुरुङका अनुसार गुम्बाका प्रमुख वाचक एवं धर्मगुरू डा (खेन्पो रिम्पोछे) दशरथ गुरुङसहित आधा दर्जन धर्मगुरुहरुद्वारा नियमित पाठ वाचन हुँदै आएको छ ।
करिब दुई हजार ६ सय वर्षपहिले भगवान् गौतमबुद्धले प्रतिपादन गरेको शिक्षा र ज्ञानलाई पुस्तकमार्फत समाजमा शान्ति फैलाउन यो कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको गुम्बाका प्रमुख वाचक खेन्पो रिम्पोछे दशरथ गुरुङले बताए । सोही शिक्षामार्फत शान्ति स्थापना गराउने उद्देश्यका साथ ठाउँठाउँमा त्रिपिटक पाठ वाचन गर्ने गरेको उनले जानकारी दिए ।
ज्योतिष पात्रोअनुसार उज्यालो समयमा पाठ वाचन कार्यक्रम राखिएको हुँदा अन्य समयको भन्दा यो समयमा पुण्य कमाउने मौका मिलेको उनले बताए । ‘त्यसकारण बुद्ध धर्मप्रति आस्था राख्ने जो–कसैले यस्तो सुनौलो अवसर गुमाउनु हुँदैन,’ उनले भने, ‘किनकि संसारमा सबैभन्दा ठूलो पुण्य भनेकै दान पुण्य हो ।’
दान पुण्यले हरेक प्राणीको जीवनकालमा सकारात्मक भूमिका खेल्ने हुँदा पुण्य प्राप्तिको लागि दानपुण्य नै सबैभन्दा उत्तम कार्य रहेको उनको भनाइ छ । कङ्ग्युर पाठ वाचन गर्दा विश्वजगत्लाई नै शान्तिभूमिको रुपमा स्थापित गराउनमा सहयोग पुग्ने उनले सुनाए । ‘विश्वमा भइरहेको हिंसा, अपराध, द्वेष भावजस्ता नकारात्मक विषयलाई छलेर सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ’, उनले भने ।
कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । गुम्बाका प्रमुख वाचक एवम् पूजा प्रमुख डा दशरथ गुरूङसहित खेन्पो रिम्पोछे डा रनबहादुर गुरुङ, शिर लामा गुरुङ, सन्तोष गुरुङ, रक्षबहादुर गुरुङलगायत धर्मगुरुहरुबाट नियमित पाठ वाचन हुनेछ ।
आयोजकका अनुसार हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म पूजापाठ हुनेछ । फागुन १२ गते दाताहरूलाई सम्मानसँगै वाङ (अभिषेक) एवम् प्रसाद ग्रहण गर्दै समापन गरिने कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
कङ्ग्युरबाट प्राप्त आम्दानीलाई गुम्बामा निर्मित भवनमा सभा हल व्यवस्थापनमा खर्च गरिने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । विसं २०६३ मा स्थापना भएको गुम्बाले हरेक तीन÷तीन वर्षमा कङ्ग्युर पाठ वाचन गर्दै आएको छ ।














