Logo
Logo
कांग्रेस महासमिति बैठक

महासमिति सदस्यहरुले नेतृत्वलाई के सुझाव दिए ?


504
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति आज समापन हुँदैछ । फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आज समापन हुने भएको हो ।

अन्तिम दिन आज समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि अपराह्न बैठक समापन हुने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमा समूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा राखेका थिए । महासमिति बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् ।

छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायतका विषयमा धारणा राखेका छन् ।

यस्तै, सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसरहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा महासमिति सदस्यहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्