Logo
Logo

१२ औँ महाधिवेशन असारमा गर्ने नेविसंघको प्रस्ताव


504
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १२ औँ महाधिवेशन आगामी असारमा गर्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निर्णय लिएर अघि बढ्छौँ ।’

उनका अनुसार वैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँ/नगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ । त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरूमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’

नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिबद्धता अनुरूप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धान क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्