काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज सातै प्रदेशमा सभापतिले समूहगत प्रतिवेदन पेश गर्ने भएका छन् । महासमिति सदस्यहरुले बोलिसकेपछि सातवटै प्रदेशका सभापतिहरुले आआफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणालाई प्रतिवेदनसहित मूल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
महासमिति बैठकको चौथौ दिन आज पनि उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले बताए ।

बुधबार रातिसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको हो । विश्वकर्माका अनुसार सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको छ ।














