Logo
Logo

नेपाली सेनाले सगरमाथा क्षेत्रमा बनायो अत्यावश्यक पर्यटन संरचना


567
Shares

सल्लेरी । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको हो ।

जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माण सम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए ।

उनले भने, ‘शौचालय गत मङ्सिर १७ गतेदेखि सुरु गरी माघ १८ गते निर्माणसम्पन्न गरेको हो, पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङको सल्लाह, सुझावमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणशुर गुल्मका गुल्मपति सेनानी प्रचण्डविक्रम भारतीको पहलता तथा गुल्मका सकलदर्जाको करिब तीन महिनाको अथक प्रयासमा निर्माण भएको हो।’

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले नेपाली सेनाले निर्माण गरेको सार्वजनिक शौचालयले सगरमाथा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी विदेशी पर्यटकहरुलाई सुविधा पुग्ने विश्वास व्यक्त गरिन्।

सगरमाथा राष्ट्रिय निकुञ्न विभिन्न देशका पर्यटकको एक प्रमुख गन्तव्य बनिरहेको छ। बर्सेनि करिब ५० हजार स्वदेशी विदेशी पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल आरोहणका साथै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो ताललगायत स्थानको भ्रमण गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्