Logo
Logo

सन्दीपलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अनुमति



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न अनुमति पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला चित्त नबुझेपछि उनी बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । पुनरावेदन दर्ता गर्दै उनले थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने अनुमति दिन माग गरेका थिए ।

उच्च अदालतले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ बमोजिम थुना बाहिरै रहेर पुनरावेदन गर्ने अनुमति दिएको हो । लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कारको कसुरमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय तोकेको थियो । साथै, उनलाई ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत सुनाइएको थियो ।

लामिछोले काठमाडौं जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी राखेको र उक्त रकमले कैद तथा जरिवाना बराबरको रकम पुग्ने भएकाले फैसला अन्तिम नभएसम्मका लागि थुनामा जान नपर्ने भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधाअन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पाउनेछन् । तर, यद्यपि सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भए पनि कैदबापतको रकम भुक्तानीको गणना गर्दा सोही बमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।

सन्दीपलाई भएको ८ वर्ष कैदलाई ३ सय ६५ दिनले गुणा गर्दा कुल २ हजार ९ सय २० दिन हुन आउँछ । २ हजार ९ सय २० दिन कैदमा बस्नुपर्दा प्रतिदिन ३ सय रुपैयाँका दरले कैदबापत रकम भुक्तानी हुँदा लामिछानेले १० लाख ६५ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्