Logo
Logo

संसदमा माधव सापकोटा र ज्ञानेन्द्र शाहीको जुहारी



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच जुहारी चलेको छ ।

आज (आइतबार) बसेको बैठकमा माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएका थिए । राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् ।

सापकोटाले भनेका थिए– ‘व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ, पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु समेत लिने । फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’

राप्रपाका सांसदहरु लक्षित गर्दै माओवादी सांसद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने, ‘यो संसदमा यो संविधानका विरुद्धमा बेलाबखत जसरी विरोध भइराखेको छ, हमला भइराखेको छ, यसलाई ध्वंश तुल्याउने जो भइराखेको छ यसका बारेमा सचेत तुल्याइनुपर्दछ, सचेत गराइनुपर्छ, यही संविधानले दिएको लोगो र यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगोको आधारमा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पड्काउने, प्रदेशतिर सभामुख लिने तर, फेरि यो संविधान विरोध गर्ने ?’

माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ दिए ।

‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ
दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ
थिए होलान् तिनीहरुका पनि सपना
न्यानो लगाउने र मिठो खाने
रक्षक नै भक्षक भएपछि
न्याय खोज्न अब कहाँ जाने ?
आँखाबाट आँशु झार्दै
भक्कानिएर रुन्छिन् तिनकी आमा
अपराधीलाई कारबाही गर भनी
संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा
सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,
जति दबाउन सक्छौ दबाऊ,
दबिएर दबिँदैन यी आवाजहरु
एक दिन उठ्नेछन् र भन्नेछन्
भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन
यो देशबाटै भगाऔं ।’


माओवादी सांसद सापकोटा र राप्रपा सांसद ज्ञानेन्द्र शाहीसँग यसअघि पनि जुहारी चलेको थियो । गत शुक्रबार सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए । त्यसको जवाफ आइतबार राप्रपा संसद शाहीले कवितामार्फत दिए ।

प्रतिक्रिया दिनुहोस्