Logo
Logo

क्रिकेट खेलाडीको मासिक तलब एक लाख पुग्यो



काठमाडौं । नेपाल क्रिकेट संघले खेलाडीहरूको नयाँ वर्गीकरण गर्दै पुरुष खेलाडीको हकमा मासिक पारिश्रमिक एक लाख पुर्याएको छ । महिला खेलाडीको हकमा भने मासिक ५० हजार तोकेको छ।

फागुन १२ देखि १४ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकले ग्रेड ‘ए’मा परेका खेलाडीहरूको हकमा मासिक पारिश्रमिक एक लाख पूर्याएको हो ।

पुरुषतर्फ ३० जना खेलाडीको ग्रेडिङ गर्दै रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल ‘ए’ग्रेडमा परेका छन् ।

महिलातर्फ जम्मा तीन खेलाडी मात्रै ग्रेड ‘ए’मा परेका छन् । इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ‘ए’ ग्रेडमा परेको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले ‘बि’ ग्रेडमा रहेका पुरुष खेलाडीलाई ७० हजार, ‘सी’ मा रहेकालाई ५५ हजार, ‘डी’ मा रहेकालाई ३५ हजार र इमर्जिङ क्याटोगरिमा रहेकालाई मासिक २५ हजार दिने निर्णय गरेको छ ।

‘बी’ ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा रहेका छन् । ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन् । ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनि साह,विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।

इमर्जिङ क्याटोगरीमा दीपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, बिपिन खत्री, देर्ब खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन् ।

महिला टोलीमा रहेका ११ खेलाडीको वर्गीकरण गर्दै क्यानले ‘ए’ ग्रेडमा रहेकालाई मासिक ५०, ‘बी’मा रहेकालाई ३५, ‘सी’मा रहेकालाई ३०, ‘डी’मा रहेकालाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेकालाई मासिक २० हजार पारिश्रमिक तोकेको छ ।

‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर छन् । ‘बी’ मा एक जना कविता कुँवर छन् । ‘सी’ मा पूजा महतो र आश्मिन कर्माचार्य छन् भने ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् ।

यसैगरि इमर्जिङ क्याटोगरीमा सोनी पार्खिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्