Logo
Logo

टी-२० श्रंखला: नेपाल नामिबियासँग पराजित



काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै नेपालको लागि कुशल मल्ल ३२, सोमपाल कामी २६, गुलशन झा १२, विवेक यादव र आशिफ शेख ६, सन्दीप जोरा ५, करण केसी २ र कुशल भुर्तेल शून्यमा आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए

टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए ।

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्