Logo
Logo

हलेसीमा पूजाआजा अनिश्चितकालका लागि बन्द


- दृष्टि न्युज/संवाददाता


खोटाङ, ८ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिबीच छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए ।
‘हलेसी मन्दिर भक्तजन तथा पर्यटकका लागि बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजा नियमित हुन्छ’, उनले भने, ‘अन्य समय हलेसी मन्दिरको मुख्यद्वार तथा बसाहा गुफाको प्रवेशद्वार भने बन्द गरिएको छ ।’
त्रिधार्मिकस्थलको रुपमा विश्व प्रसिद्ध हलेसी अनिश्चितकालका लागि बन्द गरिएको यो नै पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् । नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिको संयुक्त हस्ताक्षर रहेको सूचना शुक्रबार प्रकाशन गरेर हलेसी मन्दिर बन्द गरिएपछि दर्शनार्थी तथा पर्यटकको चहलपहलसमेत कम हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत अनिश्चितकालका लागि बन्द गरिएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए । कोरोनाको महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द भएको छ । हलेसी मन्दिर परिसरमा यसअघि बिक्री गरिँदै आइएको डोरामालासमेत बेच्नमा प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोनाबाट जोगिन मन्दिर परिसरमा हिजो चैत ७ देखि हेल्थ डेस्क (स्वास्थ्य सहायताकक्ष) समेत राखिएको छ ।
हलेसी प्रवेश गर्ने प्रमुख नाका सो नगरपालिकाको वडा नं १ मा पर्ने बाहुनीडाँडाको जयरामघाट र वडा नं ११ राजापानीको रेग्मीटारमा समेत आजदेखि हेल्थ डेस्क राखिएको जनाइएको छ । प्रमुख नाकामा स्थापना गरिएको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा रहने नगरप्रमुख राईले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालय तथा संघसंस्थाले आफ्नो पूर्वनिर्धारित औपचारिक कार्यक्रमसमेत स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्