Logo
Logo

टी-२० श्रृंखला : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित



काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पु¥याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।

चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए ।

त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।


नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका थिए । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए ।

स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडेका थिए । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाएका थिए ।

बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक’एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्