Logo
Logo

कृतिम आभाव : गोदाममा छ, बजारमा छैन


- दृष्टि न्युज/संवाददाता


भद्रपुर, ९ चैत । स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै यसकोे रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाउने कदम चालेपछि झनै कृतिम आभाव बढेको छ ।
मेचीनगर नगरपालिकाको टोलीले प्रदेश सांसदसहित शनिबार नगरका चारवटा चामल उद्योग र एउटा ग्यास उद्योगमा अनुगमन गर्दा त्यहाँ प्रशस्त धान, चामल र खाना पकाउने ग्यास भण्डारण (मौज्दात) रहेको पाएको छ । तर, बजारमा रहेका बिक्री डिलरहरुले ग्यास छैन भन्ने गरेका छन् । मेचीनगर–१४ दुहागढीस्थित मेची ग्यास इन्डस्ट्रि«जको गोदाममा ११ हजार सिलिन्डर ग्यास मौज्दात रहेको र नौ हजार सिलिन्डर ग्यास भारतबाट केही दिनमै आउने क्रममा रहेको उद्योगका सञ्चालक महादेव अग्रवालले जानकारी दिए ।
‘एउटा सिलिन्डर भएका उपभोक्ताले हाल तीन वटासम्म सिलिन्डर किनेर लैजाने गरेकाले अभाव भएको जस्तो देखिएको हो’, उद्योगका सञ्चालक अग्रवालले अनुगमन टोलीलाई भने, ‘आत्तिनु पर्दैन, हामीसँग पर्याप्त मौज्दात छ र दिनैपिच्छे दुई हजारभन्दा बढी सिलिन्डर डिलरकहाँ पु¥याइरहेका छौँ ।’ तर, विक्रेताले भने उपभोक्तालाई ग्यास छैन भन्ने गरको गुनासो गरेका छन् ।
मेची ग्यासको कुनै डिलरले भाइरसको जोखिम निम्तिएको मौका छोपी बढी मूल्यमा ग्यास बेचेको र सामान लुकाएर उपभोक्तालाई ठगी गरेको पाइएमा डिलरको लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिइएको अनुगमन टोलीलाई जानकारी दिए । उनले भने, ‘ग्यासको अभाव हुनुपर्ने कुनै कारण नै छैन ।’
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, नगरपालिकाका खाद्य तथा अनुगमन अधिकृत दीपेन्द्र कार्की, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य भूमि पौडेल, संघका पूर्वअध्यक्ष एवं अगुवा व्यवसायी विजय डालमिया, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेल, काँकडभिट्टा इप्रकाका प्रहरी सहायक निरीक्षक यादव सुवेदी, पत्रकारद्वय मोहन काजी र लक्ष्मी उप्रेती सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्