Logo
Logo

मिटरब्याजले लगायो उठीबास



काठमाडौं । न्याय माग्दै मिटरब्याजपीडीतले काठमाडौंमा आन्दोलन गरेको ४१ दिन पुग्यो  । तर  देशमा सत्ता परिवर्तनको खेलले पीडितका मुद्दाहरू ओझेलमा परेका छन् ।

सहिद दिवसको अवसरमा गत माघ १६ गतेदेखि ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ पूर्व मेची र पश्चिम महाकालीबाट सुरु भई चितवनमा भेला भएर काठमाडौं आएका थिए । 

मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको आह्वानमा देश भरबाट केन्द्र सरकारलाई दबाब दिन दोस्रो पटक उनीहरू संघीय राजधानी काठमाडौंमा आएका हुन् । 

उनीहरू गत वैशाखमा पनि न्याय माग्दै काठमाडौं आएका थिए । त्यस बेला सरकारले न्याय दिने वचन दिएपछि उनीहरू फर्किएका थिए । वार्ता पछि समस्या समाधान गर्न सरकार अध्यादेश पनि ल्यायो । जिल्ला प्रशासन कार्यालयबाट न्याय दिने निर्णयपछि पीडितहरू घर फर्किएका थिए ।


घामपानी नभनी धेरै दुःख कष्टको कुनै प्रवाह नगरी आएका किसान मजदुरहरूको आ–आफ्नै पिडा छ । महोत्तरीको बर्दिबासबाट ६२ जनाको नेतृत्व गरी आएका छन् ६० वर्षीय जवाहरलाल यादव । उनले पूर्व जमिनदार वैद्यनाथ यादवबाट ३ लाख रुपैयाँ ऋण ल्याएका थिए । 


उनले करिब ३० लाख पर्ने घडेरी २ कट्ठा र ३ कोठे घर साहुलाई बुझाइसके ।  तर, साहुले अझै मानसिक तथा शारीरिक यातना दिन छाडेका छैनन् । श्रीमतीलाई आर्थिक दण्ड जरिवानाको चेतावनी दिँदै  जेल हालिदिन्छु भन्दै त्रास देखाउने गरेको जवाहरलाल बताउँछन् । 


उनलाई नै अर्का स्थानीय साहु कोशल किशोर यादवले ६ लाख ६० हजारको हिसाबमा १३ कट्ठा ११ धुर जग्गा कागजको आधारमा बेची पुनः जवाहरलाल यादवसँग ६ लाखको कपाली तमसुक गरी निकै पीडा दिएका छन् । त्यसपछि उनी १२ दिन  हिँडेर न्याय माग्दै काठमाडौं आएका हुन् । 

किसान मजदुर नेता यादवले २०४६ सालको प्रथम आन्दोलनपछि माओवादी विचारधारालाई सहयोग गर्दै आए थिए । उनले मिटरब्याजी साहुलाई कारबाही गरी जग्गा फिर्ता पाउँ भनी महोत्तरी जिल्ला प्रशासन कार्यालय जलेश्वरमा निवेदन दिएका छन् ।

यसै गरी १५ दिनमा सिराहाको गोल बजार नगरपालिका– ८ बाट काठमाडौं आइपुगेका ७६ वर्षीय पीडित तिलक बहादुर मगरको पिर उस्तै छ । उनले सोही ठाउँका साहु मोहन यादवसँग २०६९ चैत्रमा १० लाख ५६ हजार रुपैयाँ ऋण लिएका थिए ।

तर, ३३ लाखको कपाली तमसुक बनाइयो । उनले १-३-१५ जग्गा र फरक कित्ताको घर ऋण र्तिन नसक्दा ३ वर्षमै खोसियो । मगरले पनि मिटरब्याजी मोहन यादवविरुद्ध घरजग्गा फिर्तासहित कारबाही गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएका छन् । 

गोल बजारबाट आएका पाँच जनामध्येका शालिग्राम धमलाको कथा, व्यथा अरूको भन्दा कम छैन । उनले १५ वर्षअघि साढे १२ कट्ठा खेत र आँपघारी राजीनामा पास गरी २ लाख ६० हजार ऋण साहु सत्यनारायण यादवसँग लिएका थिए ।

ऋणको तेब्बर बराबरको कागज गडी साँवा ब्याज तिर्न नसक्दा उनलाई साहुले सुरुमा २५ लाखदेखि ४५ लाख जग्गा फिर्तीको लागि तिर्नुपर्ने सर्त अघि सारे । त्यस कारण धमला यस आन्दोलनमा सहभागी हुन बाध्य भए । उनले पनि मिटरब्याजी साहुविरुद्ध कारबाही गरी जग्गा फिर्ताको माग राखी जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दिएका छन् ।

आन्दोलनकारी मिटरब्याज पीडितहरूले सरकारसँग उच्च स्तरीय आयोग गठन गरी सत्य तथ्य छानबिन गरी छोटो अवधिमा न्यायको अपेक्षा राखेका छन् । 

पहिलो आन्दोलनको सम्झौता वैशाख २० को जस्तो धोका नहोस् भन्दै यस समस्यासँग सम्बन्धित कानुन निर्माण गर्न उनीहरूको माग छ ।

उनीहरूले ऋण तिर्ने समयावधि बढाउनुपर्ने, आफ्नो घरजग्गाको चलनचल्तीको मूल्याङ्कन अनुसार हिसाब फरक फरक गरी घर जग्गा फिर्ता पाउनुपर्ने वा आर्थिक कारोबार मिलान गर्न पाउनुपर्ने सर्त अघि सारेका छन् । 

मिटरब्याजपीडीत आन्दोलन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका महासचिव ऋषि कट्टेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृ भगवती चौधरी र एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालले ऐक्यबद्धता जाहेर गरेका छन् । 

आन्दोलनकारीले आफ्नो माग सुनुवाइको लागि सबै राजनीतिक पार्टीको कार्यालयहरूमा जुलुससहित पुगी नेतृत्वलाई ज्ञापन पत्र बुझाउँदै आएका छन् । 

यसै क्रममा उनीहरूले गत सोमबार नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कार्यालयमा पुगी ध्यानाकर्षण पत्र बुझाएका थिए । साहुको गरिब जनतामाथिको तीव्र ऋण तिर्न दबाबका कारण धेरै पीडितहरू मानसिक तनावमा रहेका छन् ।

उनीहरूको घरबार उजाडिएको छ । सन्ततिहरूको मौलिक हक हनन भएको छ । त्यसप्रति राज्य गम्भीर बन्नै पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्