Logo
Logo

जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लंघन : कास्की प्रहरी


- दृष्टि न्युज/संवाददाता


कास्की, १३ चैत । पोखरामा जिम्मेवार व्यक्ति नै प्रातः भ्रमणका नाममा डाँडाकाँडातिर देखिन थालेपछि कास्की प्रहरीले लकडाउनको सिद्धान्त पूर्ण पालन गर्न आग्रह गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई पोखराका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।
उनले सडकमा सामाजिक अगुवा नै प्रातःभ्रमणका नाममा जथाभावी हिडिदिँदा सर्वसाधारणमा भ्रम सिर्जना भएको बताए । उनले भने, ‘यो संक्रमण व्यक्ति बीचबाट मात्र नभई सङ्क्रमित व्यक्तिको छोएका जुनसुकै वस्तुबाट पनि हुन सक्ने भएकाले यस विषयमा गम्भीर हुन सम्पूर्णलाई अनुरोध गर्छौँ । हामी लकडाउनको पहिलो चरणमा छौँ, संक्रमण नफैलियोस् र नागरिकहरु आफ्नो स्वास्थ्यको बारेमा सतकर्त हुन् भनेर विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ तर सडकमा अनावश्यक हिँड्ने सर्वसाधारणभन्दा पनि जान्नेबुझ्ने व्यक्ति नै बढी देखिनु दुर्भाग्य हो ।’ सामाजिक अगुवाले नै विभिन्न गतिविधि गर्दै सामाजिक सञ्जालमा राख्दा सर्वसाधारणमा झन् भ्रम सिर्जना भएको पनि कार्कीले बताए ।
उनले सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरुबाट पहिलो दिन ३७० र दोस्रो दिन १६७ जनाको सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए । नियम उल्लंघन गरेर अत्यावश्यकबाहेक सवारी साधन चलाउनेहरुको सवारी साधन नियन्त्रणमा लिएर कारवाहीलाई सशक्त बनाइएको पनि उहाँले बताए ।
लकडाउनको तेस्रो दिन पोखराका अत्यावश्यक उपभोग्य वस्तुका पसल खोल्न आग्रह गरिए पनि मुख्य शहरका प्रायःजसो पसल बन्द छन् भने सवारी साधन ज्यादै कम मात्रामा चलेका छन् । अहिलेसम्म पोखरा र आसपासमा कोरोना भाइरसका संक्रमित नदेखिएको र उच्च सतर्कता अपनाउन सके सुरक्षित हुन सकिने अवस्था छ । सरकारसँगै जनता पनि जिम्मेवार बनेर यो एकहप्ते लकडाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्ने सकिने कार्कीको विश्वास छ ।
कुनै एक जनाको लापरवाहीले धेरैको जीवनलाई प्रभाव पार्ने भएकाले अहिलेको अवस्थालाई कुनै राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द जस्तो नसम्झी परिवारका साथ घरै बसेर लकडाउनको पूर्ण पालन गर्न उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्