Logo
Logo

चीनसँग जोडिएको बन्दरगाहमा ७ जना आतंकवादी मारिए



क्वेटा (पाकिस्तान) । चिनियाँ लगानीको आधारशिला मानिने पाकिस्तानको बन्दरगाहस्थित कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा ७ आतंकवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानले दशकौँदेखि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उग्र विद्रोहको सामना गरिरहेको छ । बलुचिस्तानमा इस्लामाबादका विरोधी पृथकतावादीहरूले प्राय विदेशी लगानीका परियोजनाहरूलाई निशाना बनाइरहन्छन् ।

बलुचिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण परिसरमा ‘घुसपैठ’ को प्रयास गर्ने सात आतङ्कवादी मारिएको स्थानीय अधिकारी सइद अहमदले बताए । अरब सागमा रहेको ग्वादर बन्दरगाहको व्यवस्थापन एउटा चिनियाँ फर्मद्वारा गरिएको छ र यसलाई आफ्नो विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाअन्तर्गत पाकिस्तानमा बेइजिङको मुकुट रत्न मानिन्छ ।

सैन्य स्रोतका अनुसार परिसरभित्र कानून प्रवर्तन चौकीको सुरक्षा दिइरहेका चार सैनिकका साथै सात आतङ्कवादी मारिएका छन् । ‘आतङ्कवादीहरूले ग्रेनेड, रकेट लन्चर र कलाश्निकोभले आक्रमण गरेका थिए, उक्त क्षेत्र अब खाली गरिएको छ’, स्रोतले भन्यो ।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले सामाजिक सञ्जाल एक्समा आठ आतङ्कवादी मारिएको जानकारी दिए ।
पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बिएलए) ले इमेलमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको दाबी गरेको थियो । बिएलएका प्रवक्ता जियान्द बलुचले सैन्य गुप्तचर कार्यालयलाई निशाना बनाइएको बताएका छन् । गत अगस्टमा बिएलएले चिनियाँ इन्जिनियरहरूलाई बन्दरगाह लैजाँदै गरेको एक सवारीमा आक्रमण गरेको दाबी गरेको थियो ।

जातीय बलुच पृथकतावादीहरूले प्राकृतिक स्रोतहरूको विशाल भण्डारको यस क्षेत्रबाट आफ्नो समुदायलाई धनको उचित हिस्सा नदिइएको लामो समयदेखि दाबी गर्दै आएका छन् । उनीहरूले विदेशी लगानीका परियोजनाहरूको सुरक्षा गर्ने पाकिस्तानी सुरक्षा बलहरूलाई प्राय निशाना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्