Logo
Logo

कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’


- दृष्टि न्युज/संवाददाता


चितवन, १६ चैत । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना संक्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो ।
भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए । कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उहाँकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उहाँहरु कोरोना अस्पताल पुगेका थिए ।
सोही एयरवेजमा आएका ६ जना चितवनवासी भएकामा एक जना काठमाडौँमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य ६ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिनुभयो । गत ७ चैतबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल चारजनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्