Logo
Logo
कला

संघर्षको अर्को नाम ‘सापटी काका’



काठमाडौं । एक दिन ख्याल ठट्टामै दिवाकर भण्डारीले आफूलाई ‘सापटी काका’ उपमा दिए । पोखरादेखि रंगमञ्चको यात्रा सुरु गरेका उनले ‘लखतरान’ नामक टेलि सिरियलमा त्यही उपनाममा अभिनय गरेका थिए । उनी अहिले नामले भन्दा उपनामले बढी चिनिन्छन् ।

टेलिफिल्म र रंगमञ्चका चर्चित कलाकार दिवाकर ‘सापटी काका’ भनेर चिनिन पाउँदा खुसी छन् । कलाकारितामै करिब ३२ वर्ष विताइसकेका उनी भन्छन्, ‘यो मैले कमाएको सम्पत्ती हो । दर्शकदेखि आफन्तसम्मले सापटी काका भन्दाखेरी खुसी लाग्छ ।’

त्यसो त ‘सापटी काका’ उपमा स्थापित गर्न उनलाई सजिलो थिएन । टेलिफिल्म ‘लखतरान’मा मान्छेसँग सापटी लिने तर नतिर्ने भूमिकामा अभिनय गरे । झट्ट सुन्दा सापटी काका नकरात्मक लागेपनि उनी त्यो उपमा रुचाउँथे । त्यसैले काठमाडौं आएपछि पनि त्यही नाम स्थापित गर्न लागे उनी । हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा उनी सापटी काकाकै भूमिकामा अभिनय गरे । अहिले ‘मेरी बास्सै’ आफैं निर्देशक गर्दै आएका छन् ।

उनी भन्छन्, ‘अहिले त सापटी लिएको पैसा तिर्छु, तैपनि सापटी काका भन्दाखेरी कतै सापटी तिरेको छैन कि भन्ने भान हुन्छ ।’ उनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा समेत सापटी काका नाम राखेका छन् ।

दिवाकरको कलायात्रा

दिवाकर भण्डरी रंगमञ्चका ‘बादशाह’ नै मान्निछन् । निर्देशक तथा कलाकार भण्डरीले कला क्षेत्रमै तीन दशकभन्दा बढी विताइसकेका छन् । उनी भन्छन्, ‘मेरो रंगमञ्च र कला क्षेत्रमै ३१ वर्ष पूरा भयो । यो मिहिनेत र संघर्ष अझै जारी छ ।’

दिवाकरको आफ्नै कथा पनि ‘मेरी बास्सै’को भन्दा कम छैन् । उनको संघर्षको आरोह–अवरोहरु सिरियलजस्तै कहिँ हँसाउने, कतै रुवाउँने छन् । कलाकारिताकै दौरानमा उनले सडकको बाससमेत गरेका छन् ।

२०४९ सालदेखि रंगमञ्च हुँदै अभिनय क्षेत्रमा होमिएका उनले अहिलेसम्म कति नाटकमा काम गरेँ भन्ने कण्ठै छ । ‘१०९ वटा त नाटक नै गरेँ’ उनी भन्छन्, ‘मैले सडक नाटकदेखि कचहरी, एकांकी, पूर्णाङ्कीदेखि रेडियो नाटकसम्म गरेको छु ।’

पछिल्लो समय टेलिफिल्म निर्देशन र अभिनयमा व्यस्त दिवाकर भण्डारीले ‘मेरी बास्सै’मा झण्डै २ वर्ष कथा लेखन तथा मुख्य सहायक निर्देशकका रुपमा काम गरे । जतिखेर उक्त टेलिफिल्मलाई दमन रुपाखेतीले निर्देशन गर्थे ।
दिवाकरले ‘मेरी बास्सै’को ७६४औँ शृखलाबाट निर्देशन सम्हालिरहेका छन् । उनी भन्छन्, ‘मेरी बास्सैलाई कसरी दर्शकको मनमा बस्ने बनाऊँ भन्ने मलाई भइरहेको हुन्छ । त्यसैले हरेक एपिसोडमा नयाँ कथा पस्कने गरेको छु ।’

२०५२ सालमा ‘धुन’ नामक टेलिफिल्म क्षेत्रमा प्रवेश गरेका दिवाकर भण्डारीले दर्जनौँ फिल्ममा समेत अभिनय गरेका छन् । ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी लिनुअघि खिँचडी, गडबडी, पुतली, खासखुस लगायतका दर्जनौं टेलिफिल्ममा काम गरेका उनले चिनो, राज, मेरी गंगा, नाइ नभन्नु ल–२, हाँसीदेउ १ फेर जस्ता चलचित्रमा काम गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–२ कास्कीमा जन्मिएका दिवाकर भण्डारी अभिनयसँगै गीतसमेत गाउँछन् । उनले हालसम्म ८ वटा दोहोरीगीत बजारमा ल्याइसकेका छन् ।

पहिलो पारिश्रमिकबाट आमालाई सारी

सानैदेखि सडक नाटकमा सहभागी हुन्थे उनी । अभिनय गर्न भनेपछि हुरुक्कै हुने भण्डारीले पहिलोपटक ‘धुन’मा अभिनय गर्ने मौका पाए । उक्त सिरियलमा अभिनय गरेवापत एक सय रुपैयाँ पारिश्रमिक पाएको उनी स्मरण गर्छन् ।

उनी भन्छन्, ‘त्यसबेला ८५ रुपैयाँमा आमालाई फरिया किनिदिएँ । म सानो छँदै बुबा बित्नुभयो, घरको आर्थिक अवस्था नाजुक थियो । आमाले एकजोर लुगाले वर्षौं बिताउनुभएको थियो । त्यहीं कुराले मन पोलिरहन्थ्यो । जब, मैले पहिलोपटक पारिश्रमिक पाएँ, त्यसले आमालाई फरिया किनेर लगिदिएँ ।’

‘मेरी बास्सै’मा आउनुअघि कडा संघर्ष गर्नुपरेको सुनाउँदै उनले सन्तोष पन्तको टेलिसिरियल खेल्नलाई लाइन लागेको स्मरण गरे । ‘चारपटक प्रयास गर्दा पनि हिजो आजका कुरामा खेल्न पाइनँ’ उनी सम्झिन्छन् ।

कलाकारिताकै सिलसिलामा काठमाडौं धाउँदा गाडी भाडा नभएर नयाँ बसपार्कनजिकै ह्युमपाइपमा समेत उनले रात विताए । ‘२०५६ सालतिरको कुरा हो, घरजान गाडी भाडा र खान पैसा थिएन । । म त्यो रात ह्युमपाइपभित्र सुतेँ’ उनले भने, ‘बिहान उठ्दा वरिपरि कुकुरहरु सुतिरहेको भेटेको थिएँ ।’

विदेशमा कमाएको पैसा झ्वाम

संघर्षको दौरानमा एकपटक उनी कलाकारिताबाटै निराश भए । त्यसपछि गाउँ फर्किए । तर, उनको मन गाउँमा अडिएन । त्यसपछि साउदी अरब गए । साउदीमा करिब ८ वर्ष काम गरेर केही लाख कमाएर फर्किए । कमाएर ल्याएको पैसा पनि उनी कला क्षेत्रमै खन्याए ।

साउदीबाट आएलगत्तै ‘मेरी बास्सै’मा खेल्नलाई टिमसँग अनुरोध गरे । तर, त्यतिवेला त्यो समूहमा आवद्ध हुन पाएनन् । चलचित्रमा खेल्न नपाएपछि विदेशमा कमाएको करिब २२ लाख रुपैयाँ खर्च गरेर चलचित्र बनाए । तर, उल्टै डुबे । उनले भने, ‘त्यो चलचित्र चल्न सकेन । २२ लाख रुपैयाँ झ्वाम ।’

पछिल्लो समय भण्डारीलाई ‘मेरी बास्सै’मा जोड्ने काम राजु पौडेल (राजु मास्टर)ले गरेका थिए । राजु मास्टरलाई उनी गुरु मान्छन् । राजु मास्टरले ‘लखतराम’ नामक टेलिसिरियल बनाउँदा दिवाकरलाई भित्राएका थिए । जुन सिरियलमा उनी सापटी काकाको भूमिकामा देखिएका थिए ।

शर्ट फिल्म ‘इतिहास’ बनाएर मिडिया हबमार्फत लेखन तथा निर्देशन थालेका उनी अहिले ‘मेरी बास्सै’ निर्देश्न गर्दै आएका छन् । जुन मिडिया हबबाटै निर्माण भइरहेको छ । दुई वर्षयता निरन्तर निर्देशनमा सक्रिय रहँदै आएका उनले भने, ‘कलाकार र निर्देशक हुनमा धेरै फरक छ । कलाकारले कहिलेकाँही चित्त दुःखाउँछन् । कहिले प्रोडक्सनबाट राम्रो कुरा आउँछ, कहिले हस्तक्षेप पनि हुन्छ ।’

उनी अहिले पनि आफू कलाकारितामा संघर्ष गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘यो जुनी संघर्षमै बित्ने भयो । जीन्दगी नै संघर्ष भइदियो ।

प्रतिक्रिया दिनुहोस्