जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भासिएको कमला पुल १५ असारभित्र पुनःनिर्माण गर्न निर्देशन दिएका छन् । आइतबार पुलको निरीक्षण गर्दै उनले ठेकेदार कम्पनीका प्रतिनिधिसँग भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौं ।’

धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि ०६८ सालमा पप्पु कन्ट्रक्सन र लुम्बिनी बिल्डर्ससँग संयुक्त ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा निर्माण सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि करिब ५० प्रतिशत काममात्र भयो । घाटा लाग्ने भनेर निर्माण कम्पनीले पुल अलपत्र छाडेपछि हुलाकी सडक निर्देशनालयले पप्पु कन्ट्रक्सनलाई कारबाही गरी निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।
लुम्बिनी बिल्डर्सले लगभग काम सकेर ७८ असार १७ मा उद्घाटनको तयारीमा जुटेको बेला पुलको पिलर सामान्य बाढीमै भासिएको छ । त्यसपछि अलपत्र पुल निर्माण छिटो सक्न दबाब दिँदै स्थानीयले आन्दोलन गरिरहेका छन् ।
भासिएको तीनवटा पिलरको दुवैतिर नयाँ पिलर खडा गरी पुल पुनःनिर्माण गर्नुपर्ने सम्झौताअनुसार निर्माण कम्पनीले काम गरिरहेको छ ।














