Logo
Logo

अमेरिकी कम्पनी कोटीभिटीले अर्बौ कर छलि गरेको खुलासा, उच्च अदालतमा मुद्दा दायर 


693
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी ‘कोटीभिटी नेपाल प्रालि’ले अर्बौँ कर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले आइतबार १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६ सय ४२ रुपैयाँ रुपैयाँ विगो र जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको हो ।

विभागले कोटीभिटी कम्पनीले आफूमा रहेको निहीत सेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा जानकारी नदिई ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३ सय २१ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै कानुनअनुसार उक्त रकमको दोब्बर हुने १० अर्ब ३६ करोड सजाय माग दाबी गरी अभियोग दयार गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । 

उनले विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार मध्यम स्तरीय करदाता कार्यालय लगायत विभिन्न निकायमा प्रचलित कर कानुन बमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरेको पाइएसँगै विभागले अनुसन्धान शुरु गरेको थियो ।

ढुंगानाका अनुसार एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी मुद्दा दायर गरेको यो पहिलो पटक हो । अनुसन्धानका क्रममा कोटिभिटी इंक (होल्डिङ कम्पनी)को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले उक्त राजस्व छली गरेको देखिएपछि अभियोग दायर गरेको अधिकारीले बताए ।

‘विभिन्न आर्थिक वर्षमा कम्पनीको सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानून बमोजिम तिर्नु र बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको’ विभागले दायर गरेको अभियोगमा उल्लेख छ ।

विभागका अनुसार कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानीको कम्पनी हो । कम्पनीको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी प्रालि रहेकोमा २०७३ साउन २८ गतेको कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरिएको थियो ।  कम्पनी रजिष्ट्रार कार्यालयले २०७३ भदौ ८ गते उक्त नाम स्वीकृत गरेको थियो । कम्पनीले २०७५ कात्तिकमा भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटीभिटी नेपाल प्रालि बनाएको थियो । त्यसपछि हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्