Logo
Logo
बागमती प्रदेश

राप्रपाले भन्यो- मुख्यमन्त्री अंक गणितले बहुमतमा छन्, हाम्रो आवश्यकता पर्दैन


378
Shares

मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले संसद्को परिस्थिति अनुसार निर्णय गर्ने जनाएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धमा हालसम्म ठोस निर्णय भइनसकेको बताएका हुन् । संसद्मा उत्पन्न परिस्थितिअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी आन्दोलनको तयारीमा छौँ । मुख्यमन्त्रीको विश्वासको मतबारे अहिले यसै गर्ने भन्ने निर्णय गरेका छैनौँ । संसद्मा उत्पन्न परिस्थिति अनुसार निर्णय गर्न सक्छौँ ।’ ४० बुँदे मागसहित नागरिकको हितका लागि आन्दोलनमा जाने राप्रपाको योजना छ ।

नेता थापाले केन्द्रमा राप्रपाले उठाएका मागका विषयमा सम्बोधन गर्ने वा सहमतिका लागि ठोस निर्णय भएको खण्डमा राप्रपाले विश्वासको मतको पक्षमा रहन सक्ने बताए ।

उनले अंक गणितको हिसाबले मुख्यमन्त्री बहुमतमा रहेको बताउँदै उनले भने, ‘त्यहाँ हाम्रो आवश्यकता छैन । संसद्को अंक गणितले पनि राप्रपालाई निर्णायक भूमिका दिएको छैन । मुख्यमन्त्रीलाई सरकार टिकाउन आवश्यक बहुमतका लागि निर्णायक भूमिकामा अन्य दल रहेका छन् ।’

केन्द्रमा केही सहमति बनेमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने उनको भनाइ छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्