Logo
Logo

त्रिभुवन विमानस्थलमा आजदेखि तीन महिनासम्म उत्तरबाट जहाज अवरतण गर्न निषेध


819
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गकाे दुवै विन्दुमा भइरहेको निर्माण कार्यका कारण आज (सोमबार)देखि उत्तरी विन्दु (२०) बौद्धतर्फबाट जहाज अवतरण निषेध गरिएको छ ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले सोमबारदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको विमानस्थलभित्र पूर्वाधारमा कार्यरत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको हो ।

आयोजनका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार ९० दिनभित्र उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माण सक्ने योजना छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुनेछ । यससँगै काठमाडौंबाट आँखाको सहायताले हुने भिजुअल फ्लाइट रुल्स (भीएफआर)मा आधारित उडान गर्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् ।

काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरण÷उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् ।
पूर्वाधार विस्तारको सूचना अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को प्रावधानअनुसार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत उड्डयनसँग सम्बन्धित प्रकाशन एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी)मा प्रकाशन पनि गरिसकेको छ । यो सूचनापछि वायुसेवाहरूले ‘जानकारी पाइएन’ भन्न पाउँदैनन् । भवितव्य भए उनीहरू नै जिम्मेवार हुनुपर्छ ।

काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ वटा न्यारोबडी पार्किङ गर्न एप्रोन, तीन किलोमिटर लामो धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टू–इन्ड प्यारलल ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्यांगरलगायतका भौतिक पूर्वाधार तथा निर्माण कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्