सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

विशेष कारणवश मंगलबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधवारका लागि सार्न आफूले पत्राचार गरेको शर्माले बताए । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम शर्मालाई प्रदेश सभाको विश्वास छ भन्ने विषय स्पष्ट पार्न आवश्यक छ ।
विश्वासको मत लिने प्रयोजनका लागि उनले मंगलबार विश्वासको मतसम्बन्धीे प्रस्ताव पेस गर्ने कार्यक्रम थियो । मुख्यमन्त्री शर्माले विशेष कारणवश मंगलबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएको भन्दै बुधबारका लागि बैठक सारिएको जानकारी सहितको पत्र प्रदेशसभालाई लेखेका छन् ।
सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।














