Logo
Logo

इलाम २ मा देउवा र शेखरको आ-आफ्नै अडान


3.3k
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने सन्दर्भमा नेपाली कांग्रेस सभापति सेरबहादुर देउवा र शेखरबीच मतभेद देखिएको छ । 

मतभेदकै कारण कांग्रेसको मङ्गलवार बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने विषय निष्कर्षबिहिन भयो । सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले विषय टुंगो नलागेको कांग्रेसका एक नेताले बताए । 

बैठकमा सभापति देउवाले इलाम-२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन राखेको प्रस्तावलाई  शेखर-गगन पक्षले अस्वीकार गरेका छन् ।

शेखरपक्षले इलाम २ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडानमा राखेका छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले उम्मेदवार टुंगो लगाउन बुधवार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए ।

स्रोतका अनुसार देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको छ । तर शेखर–गगन पक्षले कांग्रेस कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका छन् ।

त्यस्तै देउवा पक्षको बझाङ प्रदेशसभा-१ बाट ४ मंसिरमा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरा अभिषेकलाई टिकट दिनुपर्ने धारणा छ । शेखर-गगन पक्षले भने गत स्थानीय तहको निर्वाचनमा अभिषेक वडाध्यक्ष पदमा पनि तेस्रो स्थानको मत ल्याएकाले प्रदेशसभाको टिकट दिन नहुने अडान लिएका छन 

प्रतिक्रिया दिनुहोस्