धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । पार्टीभित्र विवाद चर्किदै गइरहेको बेला अध्यक्ष रन्जिताले गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी हुन् ।
पार्टीको निर्णयविपरीत सरकारमा किन गएको भन्दै स्पष्टीकरण सोध्दासमेत वाफ नदिएकाले गिरीलाई हटाउने निर्णय लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पार्टीका संरक्षक रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री पठाएको थियो । तर, त्यसलगत्तै अध्यक्ष रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।
अध्यक्ष निर्देशनको बेवास्था गर्दै नाउपाका ७ मध्ये ५ जना सांसद प्रदेश सरकारमा सहभागी छन् । गिरी कृषि राज्यमन्त्री छन् । अध्यक्ष रन्जिताले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।














