काठमाडौं । आयरल्यान्ड उल्भ्सले तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ ।
बुधबार सम्पन्न खेलमा आयरल्यान्ड उल्भ्सले नेपाललाई २१ रनले पराजित गरेको हो । आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा ३७ रनको योगदान दिए । साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए । नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आयरल्याण्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रन बनाउन सक्यो । आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले ५१ रन बनाए । कप्तान निल रकले ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२÷१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।














