Logo
Logo

चेतनाको अभाव कि अराजकता ?


325
Shares

गाडी गुड्ने ठाउँ हो, सडक । र, सडकपेटी मान्छे हिँड्ने बाटो । तर, राजधानी जस्तो ठाउँको सडक र सडकपेटीको अवस्था हेर्दा त्यस्तो लाग्दैन । पैदलयात्री र सवारी चालकको आ–आफ्नै ताल छ । चेतनाको अभावले हो वा अराजकताले हो ? जसलाई जहाँ मन लाग्यो त्यो त्यही हिँडिरहेका हुन्छन् ।

पैदलयात्री हिँड्नुपर्ने सडकपेटीमा हो । तर, सडकमै हुल बाँधेर वटुवा हिँड्छन् । दुर्घटनाको ख्याल गर्दैनन् । जसले गर्दा दुर्घटना पनि निम्तिएको छ । सडकपेटीले पैदलयात्रीको हुनुबाट हक गुमाइसक्यो ! सडकपेटी व्यापारीको पेवाजस्तो भएको छ । घरबेटीको आँगन भएको छ । जसलाई जे मन लाग्यो त्यसैगरी प्रयोग गरिरहेका छन् ।

सडक खिचडीजस्तै बनेको छ । बालुवा, गिटी, ढुंगा र इँटाको ककटेल । सडकपेटीमा दोकानेको डमी । क्या गज्जबको ‘गेटअप’ । यस्तो दृश्यले सभ्य समाजलाई गिज्याइरहेको छ ।

सडकपेटीमा गुट्का र रजनीगन्धाका खोस्टा यत्रतत्र देखिन्छ । मेवाको दानाझैँ झुन्डिएका पानपराग, सुर्तीका पोका । कवाडी मोटरसाइकल र गाडीको थन्को लगाउने ठाउँ पनि सडकपेटी नै भएको छ । सडकपेटीमा रोपिएका बिरुवाको हालत उस्तै छ । बिरुवा जोगाउनु पर्छ भन्ने चेतना बटुवालाई छैन ।

छैन, रेलिङ । दुई पाङ्ग्रे पनि दुई खुट्टे हुन खोज्छ । सडकपेटीमै कुदिरहेका हुन्छन् । कतै गाडीको आधा भाग सडकतिर र आधा सडकपेटीमा हुन्छ । एक्ला–एक्ला मान्छेहरूको हुल । साँघुरो सडकपेटी । त्यो पनि आधा सवारीसाधनले मिच्छ ।

मान्छेको लागिँ हिँड्ने बाटो नै हुँदैन । सडकपेटी साधनवालाको भएपछि मान्छे कहाँ हिँड्ने ? नेपालीमा एउटा उखान छ– ‘जस्तालाई त्यस्तै, ढिडोलाई निस्तै ।’ पैदलयात्री पनि के कम ! सडकबाटै हिँड्छन् । मोबाइलमा आँखा हालेर । कहिले गाडीसँग ठोक्किन्छन् । कहिले अर्को मान्छेसँग । कहिले बिजुलीको पोलसँग ।

मान्छे थरीथरीका । कोहीको नाकमुख केही देखिँदैन । केहीलाई देख्दा अनुहार छोप्नुपर्छ । पारा उस्तै । बिजुलीको पोलसँग ठोकिँदा पनि ‘तेरो आँखा छैन’ भन्दै थर्काउँछन् ! मान्छेसँग ठोकिँदा ‘सरी’ भन्ने त परको कुरा ।

कतै सडकमै ढलको मूल फुटिरहेको हुन्छ । काठमाडौँवासी काकाकुल हुन्छन् । तर मेलम्चीको पाइप फुटेर पानीले सडक बगाउँछ । कतै सडकमा असार १५ को रोपाइँ हुन्छ । घरबाट कसिङ्गर बढारेर सडकमै फाल्छन् । पसलेहरुले आफ्नो पेटी सफा राख्नुपर्छ भन्ने सोच्दैनन् ।

लाग्छ, सडक छेउछाउका रुख र बिजुलीका पोल चर्पी हो । नेपाल खुला दिशामुक्त भएको वर्षौँ भयो । संघीय राजधानी काठमाडौंमा पनि आपत् पर्दा जाने सार्वजनिक शौचालय समेत छैन ।

मान्छे पोल र रुख देख्नेबित्तिकै कुना फर्केर उभिन्छ । झाडी भेटियो भने यताउता हेरेर त्यहीँ बस्छ । न लाज, न घिन । ‘…लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो । तर, त्यो बाध्यता पनि हो । त्यसैले भनिन्छ– ‘मर्नुभन्दा बौलाउनु जाति ।’

यतिमात्र होइन, कतैकतै सडकमै बिस्कुन सुकाउँछन् । मानौँ त्यो सडक घरको छत हो । सडकलाई आफ्नै आँगन ठानेर कसैले पूजा लगाउँछन् । कसैले खेल मैदान बनाइदिन्छन् । भकुन्डो उफारिरहेका हुन्छन् । कसै चिर्पट लिएर क्रिकेट खेल्न तम्सिन्छन् ।

सडकमा गाडी गुड्दैनन् मात्रै, जहाँ पायो त्यहीँ रोकिन्छन् पनि । पर्किङस्थल बनाएर हिँड्छन् । कसैले चाहिँ सडकमा गाडी गुडाउँदैनन्, उडाउँछन् । जसलाई स्वर्ग जान हतारो छ ।

सडकको छेउकुनामा बडेमानका गाडी रोकिएका हुन्छन् । गुड्दागुड्दै थाकेर थचक्क बस्छन् । चालक सपनामा मस्त । झ्यालबाहिर निस्किएको उनको खुट्टाले हावा खाइरहेको हुन्छ । गाडीभित्र डिस्को । कतै चाहिँ बिग्रेको गाडी बनाइरहेका हुन्छन् ।

सडकलाई पनि सत्ताको कुर्चीजस्तै बनाइन्छ । खेलाको खेलै । सडकवालाले बल्लबल्ल पिच गर्छ । त्यसपछि खानेपानीवालालाई जाँगर चल्छ । पाइप बिच्छ्याउँछ । खानेपानीवालाले टालेको सुकेको समेत हुँदैन । ढलवाला तम्सिन्छन् । सडक खन्छन् । त्यसपछि आउँछ बिजुलीवालाको । तार भूमिगत गर्ने भन्दै फेरि खन्छन् । ओल्ट्याइँपोल्ट्याइँ गरेको गर्यैँ । बिरालोले मुसा खेलाएभन्दा बढी ।

बिजुलीको तार हो कि माकुराको जालो ? छुट्याउनै गाह्रो । कुन तार कसको हो भनेर तार टाँग्नेलाई समेत पत्तो हुँदैन । तारैतार जेलिएको राजधानी । कतै तारको भार थाम्न नसकेर ढलेको हुन्छ ! तारले काठमाडौंलाई कुरुप बनाएको छ ।

बिहेको सिजन हुनुपर्छ, सडक बेहुला–बेहुली, जन्ती र भोज खाने मात्रै हुन्छन् । अघिअघि जन्ती, पछिपछि गाडी । उनीहरूको सारमा र बाजाको तालमा नाच्दै गाउँदै गुड्नुपर्छ । भतेर पकाउने र खाने ठाउँ पनि सडकै !

सडक खाली हुने कुरै छैन, कोरोना नआएसम्म । नारा जुलुस गर्नुपरे सडक । ढुंगा हान्नु परे सडक । टायर बाल्नु पारे सडक । मेला महोत्सव लागि सडक । व्यापार व्यवसाय गर्न सडक । चाडपर्व र पूजाआजा पनि सडकमै । कतै प्रहरी र आन्दोलनकारीको भिडन्त । कतै नाचगान र रमाइलो । कतै धर्मकर्म ।

यी त सडकमा देखिने रमिताका केही उदाहरण मात्रै हुन् । अरू पनि यस्ता थुप्रै गतिविधि हुन्छन् । यसको प्रत्यक्ष असर आमनागरिकलाई पर्छ । फरक क्षमता भएका व्यक्तिहरू सबैभन्दा बढी समस्यामा पर्छन् ।

अहिले सडक सुरक्षा गम्भीर बन्दै गएको छ । कोही पनि विनाहिचकिचाहट हिँडडुल गर्न सक्ने अवस्था छैन । कहीँ न कहीँ, कसै न कसैको धेरथोर लापरबाही र कमजोरीकै कारण हरेक दिन साना–ठूला दुर्घटना भइरहन्छ ।

प्रहरीको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी १२ हजार छ सय १२ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा मात्र ३५ हजार सात सय ५४ वटा सडक दुर्घटना भएका छन् ।

यसरी दुर्घटना हुनुमा मानवीय कारण ९० प्रतिशत रहेको बताइन्छ । यसले ठूलो जनधनको क्षति भइरहेको छ । नागरिकको अनाहकमा ज्यान गुमाइरहेका छन् । तरपनि राज्य कानमा तेल हालेर सुतिरहेको छ । सवारी दुर्घटनाको कारणबारे खोजी गर्न कसैको ध्यान जान सकेको छैन ।

मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारण रहेका छन्  ।

सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारीसाधन चलाउनु, सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचना आदि रहेका छन् । पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढ्ने गरेको छ ।

चालकले आफ्नो व्यवहार सुधार र सवारीसाधन मर्मतसम्भार समय–समयमा गरे, सडकको मर्मतसम्भार समयमै भए, यात्रु तथा पैदलयात्रु सचेत हुने र ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना केही हदसम्म न्यूनीकरण हुन्छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ऐन, नीति–नियम बनाएर लागू गर्नुपर्दछ । भएका कानुनमा समयसापेक्ष परिमार्जन गर्नुपर्छ । दुर्घटना रोक्न कडाभन्दा कडा कानुन ल्याउनुपर्दछ । सरकारले राजमार्गमा ट्राफिकको लाइन र यू–टियुनहरू बनाइदिनुपर्दछ  । साथै जनचेतना व्यापक फैलाउनु पर्छ । नत्र सडक मृत्यु मार्ग बनिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्