Logo
Logo

जर्मनीमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी 



काठमाडौं । जर्मनीको फ्रयान्कफर्ट सहरमा मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव हाल ३३ दिवसीय युरोप कला यात्रामा छन् । उनले युरोपका चार देशको भ्रमण गर्नेछन् भने तीन देशमा एकल चित्रकला प्रदर्शनी हुने छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । यो अवसरमा रन्जुका २४ वटा चित्रहरू प्रदर्शनीमा थिए ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रूपान्तरणमा आफ्ना चित्रहरूको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवर्द्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कूटनीतिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए । नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय ५० जना नेपाली र जर्मन नागरिकहरूले यादवको एकल चित्रकला प्रदर्शनी अवलोकन गरेका थिए ।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार भएको सुनाए । चित्रकला प्रदर्शनीले दुई देशका नागरिकहरुलाई जोड्ेको समेत बताए । 

नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरूले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । एक बलिउड कलाकारले नेपाली गीतद्वारा प्रस्तुति दिएका थिए ।  त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरू खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्