Logo
Logo

कतारसँग विभिन्न ६ वटा सम्झौतामा हस्ताक्षर हुने



काठमाडौं । नेपाल सरकार र कतारबीच विभिन्न ६ वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारी राजा अमिर शेख बिन हमाद अल थानीबीच हुने भेटवार्तापछि द्विपक्षीय सम्झौता र विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो ।

नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यी सबै कार्यक्रमहरु राजा थानी बसेकै होटल सोल्टीमा बिहान १० बजेपछि हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने आज हस्ताक्षर नहुने उनले बताए ।

अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले प्रधानमन्त्रीले हात्ती उपहार दिने घोषणा गर्ने तर सम्झौतामा हस्ताक्षर भने नहुने प्रवक्ता राईले बताए । हात्ती उपहार दिने सम्बन्धमा अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्