Logo
Logo

उपनिर्वाचन इलाम-२ : मिलन लिम्बू भन्छन्- स्थानीय जनताको आवश्यकता बुझेर काम गर्नेछु



इलाम । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले संघीयता बलियो बनाउन स्थानीय सरकार अझ अधिकार सम्पन्न बनाउनु पर्नेमा बताएका छन् । बुधबार बिहान चुनावी अभियानका क्रममा इलामको चुरे क्षेत्र चुलाचुलीमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले संघीयता बलियो बनाउने हो भने प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने बताउँदै भने, ‘प्रदेशलाई माथिबाट संघको फोटोकपी जस्तो बनाइएको छ । यसले कामै नलाग्ने संरचना बनाएको छ । काम गर्न योग्य र मिल्ने संरचना बनाउनुपर्छ ।’
स्थानीय जनताको आवश्यकताको मर्म बुझेर काम गर्ने बाचा नागरिक माझ गरेको उनको भनाइ छ । इलाम कृषिको उर्वरभूमि भएको बताउँदै उनले उत्पादन र बजारीकरणमा काम गर्ने बताए ।

निर्वाचनको क्रममा चर्चामा रहेको मिलनले भने, ‘पहिचानको विषय सिङ्गो देशले नै न्यारेटिभको रूपमा सोच्नुपर्छ । पहिचान केलाई भन्ने र यसलाई कसरी सम्बोधन गरेर जाने भन्ने कुरा समस्या कसरी समाधान गर्ने यो विषय सामान्य हैन, गहिराइमा पुगेर मज्जाले चिन्तन मनन् गर्नुपर्छ ।’ कुनैपनि दलले पहिचानको विरोध नगर्ने उनले बताए ।

‘तथापी पहिचानलाई साघुँरो घेराबाट लैजाने कि फराकिलो मैदानमा लैजाने भन्ने सन्दर्भ छ’ उनले भने, ‘पहिचानको विषयमा कसैले विमति राख्छ भने यो देशको संविधान मुल कानुन र यहाँको वस्तुगत अवस्था सामाजिक राजनीतिक अन्य परिवेश बुझ्दैन भन्ने निष्कर्ष रहन्छ । मलाई लाग्छ कुनै पनि दल यहाँ पहिचानको विरोध गर्दैन ।’

पहिचान अस्तित्वहरू स्वीकार गर्ने एउटा माध्यम भएको उनको तर्क छ । ‘एकले अर्काको अस्तित्व स्वीकार गर्नु भनेकै पहिचान हो’ मिलनले भने । उनले रास्वपाले कहिले पनि पहिचानको विरोध गरेको बताए ।

‘बेठिक लागेको भए त ठिक भएन भनेर बोल्ने थियो होला नि । त्यसकारण रास्वपाले सबैको अस्तित्व स्वीकार गरेर जानुपर्छ भन्छ’ उनले भने, ‘जलेश्वर प्रस्तावनाले यहाँको सनातन सभ्यता हाम्रो पहिचान हो यसको संरक्षण र सम्वर्द्धन गरेर जानुपर्छ भनेको छ ।’

प्रतिक्रिया दिनुहोस्