Logo
Logo

कालीगण्डकीमा पाठेघर सम्बन्धी निःशुल्क शिविर सम्पन्न



स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित महिलाहरूको पाठेघर सम्बन्धी शिविर सम्पन्न भएको छ । कालीगण्डकी समाज दक्षिण कोरियाको आयोजनामा शुक्रवार कृष्णगण्डकी स्वास्थ्य चौकी छापमा र शनिवार बिर्घा स्वास्थ्य चौकी करेन्टडाँडामा स्वास्थ्य शिविर आयोजना भएको थियो ।

शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका स्त्री तथा महिला रोग विशेषज्ञ डा. नविनकुमार श्रेष्ठ, गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ रेडियोलोजिष्ट डा. कृष्ण तिमिल्सिना, जनरल लफिजिसियन डा. आविष्कार, जनरल फिजिसियन डा. विनयकोे समूहले निःशुल्क चेकजाँच तथा परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क जनरल औषधि वितरण लगायतका सेवा दिएका थिए ।

निशुल्क सेवा लिएका तीन सय ५७ जना मध्ये आङ खस्ने समस्या भएका १० जनालाई रिङ प्रेसरी राखिएको छ । यस्तै परीक्षणको क्रममा १५ जनामा मृगौला र पित्तथैलीमा पत्थरी देखिएको, तीन जनामा जटिल समस्या देखिएको चिकित्सकले बताएका छन् । जटिल समस्या भएकाहरुलाई भर्ना गरेर शल्यक्रिया गर्न सिफारिस गरिएको छ ।

शिविर बिहान ९ः३० बाट सुरु भइ दिउँसो ४ः३० बजे सम्म चलेको थियो । ‘हाम्रो चाहना समृद्ध समाज निर्माणको परिकल्पना’ भन्ने नारासहित सन् २०१५ मा स्थापना भएको कालीगण्डकी समाज दक्षिण कोरियाले विभिन्न उदाहरणीय काम गर्दै आएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले स्वास्थ्य, समय र पैसाको बचत गर्न शिविर सम्पूर्ण सिद्ध भएको बताए । उनले गाउँपालिकाको विकास र समृद्धिको लागि दक्षिण कोरियामा रहेर काम गर्ने संस्थाको समुहलाई बधाई तथा शुभकामना दिए । शिविर संस्थाका निवर्तमान अध्यक्ष टिका पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्