Logo
Logo

उपनिर्वाचन : मौन अवधि सुरु, यी कार्य गरे हुन्छ कारबाही



काठमाडौं । यहि शनिबार इलाम–२ र बझाङ १ को ‘क’ मा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् ।

यस अवधिमा उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधि गर्न पाइने छैन । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिय, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न पाइँदैन ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आग्रह गरेको छ ।

त्यस्तै, प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ । जसअनुसार नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न आयोगको निर्देशन छ ।

उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उमेदवार, उमेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, संघरसंस्था र निकायबाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनाधिकृत गतिविधिलाई निगरानी गर्न आयोगको निर्देशन छ ।

निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्