Logo
Logo

एमालेका तीन लाख १० हजार सदस्य घटे, कुन प्रदेशमा कति कायम ?



काठमाडौं । पछिल्लो २८ महिनामा नेकपा एमालेको करिब तीन लाख १० हजार सदस्य घटेका छन् । एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा तीन लाख नौ हजार ३०५ सदस्य घटेको तथ्यांक पेश गरेका हुन् ।

यसअघि ०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा आठ लाख ५६ हजार सदस्य यकिन गरेको थियो । तर, यहि वैशाख ८ र ९ मा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा एमालेले संगठित सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ जना रहेको तथ्यांक पेस गरेको हो ।

एमालेले दशौँ महाधिवेशनलगत्तै व्यवस्थित अभिलेखका लागि सदस्यता नवीकरण अभियान चलाएको थियो । उक्त अभियानदेखि अभिलेख गरिएका सदस्य संख्या तीन लाख नौ हजार तीन सय पाँच सदस्य घटेका हुन् ।

दशौँ महाधिवेशनका वेला पार्टी विभाजनका कारण एकीकृत समाजवादी र माओवादीतिर गएका तथा निष्क्रिय रहेकाकोसमेत तथ्यांकलाई आधार मानेर सदस्यता यकिन गरिएकाले अहिले तथ्यांकमा धेरै फरक परेको एमालेको तर्क छ । तर, नेकपा विघटनपछि मात्रै एमालेले दशौँ महाधिवेशन गरेको थियो । दशौँ महाधिवेशनपछि सदस्य संख्या घट्नुका कारणका विषयमा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन भने मौन छ ।

कुन प्रदेशमा कति पार्टी सदस्य ?
महासचिवको प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनुसार अहिले कोशी प्रदेशमा ३३ लाख ९६ हजार आठ सय ६५ मतदाता रहेका छन् । जसमा २.८१ प्रतिशत अर्थात् ९५ हजार चार सय ८१ जना मात्र एमालेको पार्टी सदस्य रहेका छन् ।

त्यस्तै, मधेस प्रदेशमा ३३ लाख ८७ हजार आठ सय आठ मतदाताको २.०७ प्रतिशत अर्थात् ७० हजार ७० जना पार्टी सदस्य छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार चार सय ९२ मतदाताको ३.१५ प्रतिशत अर्थात् दुई लाख आठ हजार दुई सय ८९ पार्टी सदस्य छन् ।

गण्डकी प्रदेशमा १८ लाख ६ हजार पाँच सय ८५ मतदाताको तीन दशमलव ५२ प्रतिशत अर्थात् ६३ हजार पाँच सय ७३ जना पार्टी सदस्य छन् । यसैगरी लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३५ जना मतदाताको २.५५ प्रतिशत अर्थात् दुई लाख ९४ हजार नौ सय ७८ जना पार्टी सदस्य छन् ।

कर्णालीमा १० लाख आठ हजार चार सय तीन मतदाताको ५. १६ प्रतिशत अर्थात् ६० हजार पाँच सय चारजना पार्टी सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताको ३.२३ प्रतिशत अर्थात् ९९ हजार चार सय ८० जना पार्टी सदस्य रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्