Logo
Logo

शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग माग्यो राजनीतिक दलका समितिको विवरण



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका केन्द्रीय समितिको विवरण माग गरेको छ । मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहज होस् भनेर आयोगसँग राजनीतिक दलहरूको विवरण माग गरेको हो ।

मन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा मन्त्रालयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको जानकारी दियो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो आएपछि मन्त्रालयले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक÷कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाइसकेको छ ।

कतिपय जिल्ला एकाइहरूले पत्राचार अनुसार कारबाही पनि अघि बढाइसकेको मन्त्रीको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्