Logo
Logo

कोरोना प्रभाव : भोटखोलामा खाद्यान्न संकट


- दृष्टि न्युज/संवाददाता


खाँदबारी, २२ चैत । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ । नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । भौगोलिक रुपमा निकै विकट भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो ।
चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए । वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ । खाद्यान्न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए ।
गाउँपालिका अध्यक्ष भोटेले भने, ‘हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छाैँ ।’ उनका अनुसार खाद्यान्न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र चार लिटर तेल प्रदान गरिने छ । किमाथांका लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकाी दिए ।
भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् । रासस

प्रतिक्रिया दिनुहोस्