Logo
Logo

प्रहरी केरकारबीच आत्महत्या प्रयास, गृहमन्त्रीलाई जोडेर भ्रम फैलाएकाे ब्यूराेकाे दाबी



काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित गणेशमान सिंह ठकुरीको भिडियो भ्रमपूर्ण भएको दाबी गरेको छ । ब्यूरोको एक विज्ञप्ति जारी गर्दै सिंहले भिडियो सन्देशमा गृहमन्त्रीलाई जोडेर बताएको व्यहोरामा कुनै सत्यता नरहेको दाबी गरेको हो ।

गणेशमानले बुधबार साँझ सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफूले गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले दिएको यातनाले विष सेवन गरेकाे बताएका थिए ।

वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । तर, साइबर ब्यूरोले भने उक्त भिडियोमा कुनै सत्यता नरहेको बताएको हो ।

‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ,’ ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।

साथै सिंहले प्रहरीमा आउनुअघि नै आफू ‘विष खाएर मर्न लागेको’ म्यासेज साथीलाई पठाएको पनि ब्यूराले दाबी गरेको छ ।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले ठकुरीले प्रहरीकहाँ आउनुअघि कीर्तिपुर क्याम्पसका विधार्थी नेतालाई म्यासेज गरेर आफू विष सेवन गरेर मर्न लागेको बताएको जानकारीमा आएको बताए ।

अवस्थीले टीयूका लेक्चरले फोन गरेर बुझेपछि ठकुरीले साथीलाई म्यासेज गरेकोबारे थाहा पाएको बताए । प्रहरीका अनुसार ठकुरीको साथबाट पारा सिटामोलका दुईवटा खाली पत्ता भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । प्रवक्ता अवस्थीले ठकुरीलाई बोलाइएको विषय गृहमन्त्री लामिछानेसँग सम्बन्धित नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्