Logo
Logo

बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठको सरुवा आतंक, कर्मचारी आक्रोशित



हेटौँडा । यही गएको चैत २० गते नियुक्त भएका बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले गैरकानुनी ढंगले कर्मचारी सरुवा गरेपछि कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश सरकारमा कर्मचारी सरुवा गर्ने अधिकार प्रदेशका प्रमुख सचिव र सचिवलाई मात्र हुने व्यवस्थामा स्वास्थ्यमन्त्री श्रेष्ठले ‘मन्त्रीस्तरीय’ निर्णय भन्दै कर्मचारीको सरुवा आतंक मच्चाएपछि कर्मचारीको मनोबल गिरेको हो ।

मन्त्री श्रेष्ठले हेटौँडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलालाई गरेको काज सरुवामा पनि ‘मन्त्रीस्तरीय’ निर्णय भनेर पत्र पठाएपछि प्रदेश सरकारमा मन्त्रीले कर्मचारी सरुवा गर्ने व्यवस्था नभएकामा अधिकार दुरुपयोग गर्दै आतंक मच्चाएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति जनाएका हुन् । जबकि, बास्तोला संघमा बढुवा भएर वैशाख २३ गतेसम्ममा अन्तै कतै जाने गरी बसिरहेका छन् ।

मन्त्री श्रेष्ठले हेटौँडा अस्पतालका प्रशासन प्रमुख रहेका बास्तोलालाई अस्पतालबाटै तलब खाने गरी स्वास्थ्य निर्देशनालय हेटौँडामा सरुवा गरेपछि हेटौँडा अस्पतालका कर्मचारी आक्रोशित भएका छन् ।

वैशाख २ गतेको मन्त्रिस्तरीय निर्णयमा मन्त्री श्रेष्ठले बास्तोलालाई गैरकानुनी ढंगले अधिकार दुरुपयोग गरेको भन्दै कर्मचारीले यस्तो रवैयाले काम गर्न नसकिने बताएका हुन् ।

के छ कानुनी व्यवस्था ?

प्रदेश सरकारमा प्रमुख सचिव अथवा सचिवले मात्रै कर्मचारी सरुवा गर्ने अधिकार उल्लेख छ । परिच्छेद ४ को दफा २६ मा सरुवा गर्ने अधिकारमा स्पष्टसँग किटान गरिएको छ कि, एघारौँ तह वा सोसरहका कर्मचारीलाई प्रदेश सरकारले सरुवा गर्ने व्यवस्था छ ।

यस्तै, ख मा उल्लेख भएअनुसार, नवौँ र दशौँ तहका कर्मचारीलाई प्रदेश सरकारका प्रमुख सचिवले सरुवा गर्ने भनिएको छ । उपदफा ग मा एक मन्त्रालय वा अन्तर्गत को कार्यालयमा कर्मचारी सरुवा गर्न पनि प्रमुख सचिवले मात्रै सक्ने भनिएको छ ।

उपदफा घ मा मन्त्रालय मातहतका आठौँ तहसम्मका कर्मचारी सरुवाको अधिकार मन्त्रालयका सचिवलाई हुने छ भनिएको छ । तर, बागमती प्रदेशका स्वास्थ्यमन्त्री श्रेष्ठले आफूलाई मन नपरेका कर्मचारीलाई धमाधम ‘मा. मन्त्रीस्तरीय’ निर्णय भन्दै सरुवा आतंक मच्चाएका छन् । उनले बागमती प्रदेशमा प्रमुख सचिव नभएको मौका पारेर मन्त्रीस्तरीय निर्णयका नाममा कर्मचारीमा आतंक मच्चाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्