Logo
Logo

विद्युतीय सवारीसाधनमा आकर्षण



गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ ।

यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो ।

एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ । ‘एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ’, प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।’

चौध सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु रु चार सय ५० तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौँमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए ।

बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन, पाटपुर्जाआदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ । ‘सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । ‘निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ’, प्रमुख रिजालले भने, ‘पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।’

उनले डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए । ‘प्रदुषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।’

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए ।

‘गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ’, उनले भने, ‘कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।’

पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनशन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।

विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेशन स्थापना गरेको उनको भनाइ छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेशन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्