Logo
Logo

पञ्चा सिंह मुछिएको घटनाका मुख्य आरोपी १६ वर्षपछि भारतबाट पक्राउ



सुर्खेत । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको एक हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको छ ।

२०६५ फागुन २६ गते बेलुका हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका टाइगर भनिने पदमबहादुर रावतलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको हो ।

प्रहरीको अनुसार उनलाई बुधबार सुर्खेत ल्याइ पुर्‍याइएको छ । मल्लको हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अली कार्कीविरुद्ध बुवा नन्दबहादुरले २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए।

नागरिक न्युजले गत माघ ४ गते १६ वर्षअघि भएको हत्या घटनाको समाचार प्रकाशन गरेपछि सुर्खेत प्रहरी किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पुर्जीका लागि अदालत पुगेको थियो । अदालतले माघ ७ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले त्यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पनि पक्राउ पुर्जी लिएको थियो ।

पछिल्लो पटक प्रहरीले किटानी जाहेरी दिएकाहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नन्दबहादुर न्यायको खोजीमा काठमाडौँ पुगेका थिए । हत्या आरोपीमध्ये वीरबहादुर मल्ल हत्या गरिएका राजबहादुरका छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्