Logo
Logo

छोराको हत्या आरोपमा सरिताकुमारी पक्राउ



सिरहा । सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले खोजी गर्नेक्रममा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

प्रहरीका अनुसार आयुशको शव सरिता सुत्ने खाटको घर्राभित्र भेटिएको थियो । उनले छोरोको घाँटी थिचेर हत्या गरेकोजस्तो देखिएको प्रहरीले जनाएको छ । सरिताकुमारीले छोराको हत्या गरेको स्वीकारेकी छन् । शवको पोस्टमर्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने डिएसपी सापकोटाले बताए ।

सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्