Logo
Logo

मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति



दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ ।पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको आयोजना जानकारी दिए ।

पाण्डेका अनुसार आयोजनाअन्तर्गत पूर्वीखण्डको निर्माणको म्याद गत वैशाख २ गते सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । विविध कारणले काममा ढिलाइ भए पनि केही समयका लागि म्याद गर्ने तयारीका साथ आयोजनाका बाँकी कामलाई निरन्तरता दिइएको पाण्डेको भनाइ छ ।

यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरूभएको थियो । पूर्वीखण्डमा निर्माणको काम चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले गरिरहेको छ । सो खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुर, व्यासका विभिन्न ठाउँमा गरी १८ किलोमिटर दुईतर्फी र नौ किलोमिटर एकतर्फी सडक कालोपत्र भइसकेको छ ।

पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको र यस अण्डमा २० किलोमिटर सडक छ लेनको हुने इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार पश्चिमखण्डका तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडी बढाइएको छ ।

यस खण्डमा निर्माण अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा निर्माणको काम चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले गरिहरेको छ ।

प्रतिक्रिया दिनुहोस्