Logo
Logo

तराइमा पाँचदिन तातो हावा ‘लु’ चल्ने, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले तराई मधेशको जिल्लामा तातो हावा तथा तातो लहर चल्ने भन्दै आवशयक सावधानी अपनाउन आग्रह गरेको छ ।

तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’ जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै महाशाखाले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्छ ।

त्यसैले लुबाट बच्न घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्